https://dietkhabar.com/1097 April 08, 2020
कोरोनाको विश्वव्यापी महामारी मुलुकभित्र नफैलियोस भनेर गत १६ दिनदेखि सरकारले लक डाउन घोषणा गरेको छ । लामो समय घर मै बसिरहनु पर्दा शारीरिक रुपमा कम सक्रिय भई नसर्ने रोगको जोखिम बढ्ने तथा भय, त्रासका कारण मानसिक असरहरु पर्ने तर्फ सचेत हुन विज्ञहरुले सुझाईरहेका छन् । कोरोना महामारी रोक्न तत्कालका लागि लक डाउन गरि सामाजिक दुरी कम गर्ने विकल्प नभए पनि घर मै बसेर जीवनशैलीलाई स्वस्थ बनाउने उपायहरु भने पक्कै छन् । घर मै बसेर विभिन्न योग, ध्यानमार्फत बन्दाबन्दीमा हुन सक्ने शारीरिक तथा मानसिक असर कसरी कम गर्न सकिन्छ भन्ने बारेमा योगमान्डु योगा प्रा.लि.का संस्थापक तथा योग प्रशिक्षक अर्जुन रखालसँग गरिएको कुराकानीः
- लक डाउनका बेला घर मै बसेर कस्ता योगा वा शारीरिक कसरतहरु गर्न सकिन्छ ?
लक डाउनमा सबैलाई घरमा दिन काट्न गार्हो पक्कै हुन्छ । त्यसैले यस वेलामा आफुलाई तन्दुरुस्त राख्न खानपानमा ध्यान दिदै योग अभ्यास र साधना गर्नु नै उत्तम उपाय हो । योगले शरीरिक, मानसिक र आध्यामिक रुपमा हामीलाई स्वस्थ रहन मद्धत गर्दछ। यो समयमा कम्तिमा २० मिनेट देखी डेढ घण्टा सम्म आफ्नो मन, मस्तिस्क र शरीरको लागि प्रणायम, बन्द, आसन र ध्यान गर्नसकिन्छ। बिशेष गरी आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन श्वास प्रश्वास प्रनाली मजबुत गर्न कपालभाती, नाडिशोधन (अनुलोम बिलोम), भस्त्रिका, सुर्य बेदन प्रणायमहरु गर्न सकिन्छ। चार ओटै बन्दहरु जलान्धर बन्द, उद्दियन बन्द, मुल बन्द र माहा बन्द गरेमा शरीरमा भएको प्राण शक्ति केन्द्रित गर्न सकिन्छ। शरीरिक रुपमा तन्दरुस्त रहन श्वास प्रश्वास सहितको अङ्ग ब्यायाम, सुर्य नमस्कार ८ राउन्ड भन्दा धेरै, त्रिकोन आसन, बृक्ष आसन, उट्कट आसन, पर्वत आसन, अश्वसन्चालन आसन, सन्तोलन आसन, बिरभद्र आसन १,२ र ३, सेतुबन्द आसन, सर्वङ आसन, हलासन, नाउकासन, सलब आसन, भुजङ आसन, धनुर आसन जस्ता योगासनहरु गर्न सकिन्छ । दैनिक कम्तिमा १५ मिनेट योग निन्द्रा वा ध्यान गर्दा मानसिक रुपमा समेत फ्रेस भईन्छ।
- घर मै योग गर्दा के कस्ता कुराहरुमा विचार पु¥याउनु पर्दछ ?
योग घर मै बसेर गर्न सकिने अभ्यास हो । यसलाई नियमित जीवनशैलीमा ढाल्न सके नित्य कर्म कै एक रुप बन्दछ । यसका लागि विभिन्न माध्यमहरुबाट टिप्सहरु लिन सकिन्छ । योग गुरु र चेला पद्धती भएको हुनाले यदि तपाईं र्भखर योग सुरु गर्दै हुनु हुन्छ भने प्रशिक्षित र अनुभवी योग गुरु या योग प्रशिक्षकमार्फत सल्लाह लिदा राम्रो हुन्छ । त्यसका लागि विभिन्न भिडियोहरु हेर्ने, सामाजिक सञ्जाल वा भिडियो कन्फरेन्स मार्फत सिधै योग प्रतिक्षकलाई सम्पर्क पनि गर्न सक्नु हुन्छ। थोरैमा ३ घण्टासम्म पेट खाली भैसके पछी मात्र योग गर्नु स्वास्थ्यको रुपमा राम्रो हुन्छ। कुनै शरीरिक रुपमा अस्वस्थता छ भने योग प्रशिक्षक वा चिकित्सकको सल्लाह पछी मात्र गर्नु होला। जथाभावि योगासन गर्दा कहिलेकाही नकारात्मक असर पनि पर्न सक्छ ।
- सबै उमेर र वर्गले उस्तै योग गर्ने हो वा फरक हुन्छ ?
हरेक मानिसको शरीरिक बनावट एक अर्कामा फरक हुन्छ । त्यसैले बच्चाहरु, बयस्क, दीर्घ रोग भएका र जेष्ठ नागिरिकहरुले आफ्नो क्षमता अनुसार योग आसन गर्नु पर्छ। बच्चाहरुको शरीरिक लचकता धेरै हुने भएकोले कुनै पनि योग आसन गर्न सक्छन, वयस्कहरुमा शक्ती धेरै हुनाले तुलनात्मक रुपमा धेरै समयसम्म एउटै आसन गर्न सक्छन भने जेष्ठ ब्यक्तिहरुले सन्तुलित र रोग प्रतिरोधात्मक आसनहरु गर्न सक्छन्। प्रणायम, बन्द र ध्यान सबै उमेरकाहरुले गर्न सक्नु हुन्छ। दीर्घ रोग भएका वा अन्य स्वास्थ्य समस्या भएकाहरुका लागि अवस्थाअनुसार योगासन फरक पर्न सक्दछ ।
![कोरोनाको भयबाट हुने मानसिक असर कम गर्न नियमित योग गरौ Yogmandu 70898609 10157491151046506 4691120944645668864 o 1](https://cdn.statically.io/img/yogmandu.com/wp-content/uploads/2020/04/70898609_10157491151046506_4691120944645668864_o-1.jpg?quality=100&f=auto)
- रोग प्रतिरोधी क्षमता मजबुद बनाउन कस्तो योग गर्ने ?
बिज्ञानले हाम्रो शरीर कोष, तन्तु, अङ्ग र प्राणालीहरु मिलेर बनेको भन्छ भने योगले हाम्रो शरीर अन्नमय, प्राणमय, मनोमय, ज्ञानमय, बिज्ञानमय र आनन्दमय कोषहरु मिलेर बनेको भन्छ । त्यसैले यी प्रणाली वा कोषहरुलाई सन्तुलनमा राख्न सके हामीले रोग रहित
गुणस्तरिय जीवन जिउन सकिन्छ। धेरै अनुसन्धानहरुले अस्टाङ योग सुत्रको यम, नियमदेखि ध्यानसम्म दैनिक अभ्यास र साधना गरेमा शरीरको रोग प्रतिरोधात्मक क्षमताको बिकास भएको दाबि गरेका छन साथै यस्तो साधानाले समाधी प्राप्त गर्न सकिन्छ भनेर ग्रन्थहरुमा समेत उल्लेख छ । यसका साथै श्वास प्रश्वास सहितको अङ्ग ब्यायाम, सुर्य नमस्कार ८ राउन्ड भन्दा धेरै, त्रिकोन आसन, बृक्ष आसन, उट्कट आसन, पर्वत आसन, अश्वसन्चालन आसन, सन्तोलन आसन, बिरभद्र आसन १,२ र ३, सेतुबन्द आसन, सर्वङ आसन, हलासन, नाउकासन, सलब आसन, भुजङ आसन, धनुर आसन जस्ता योगासनहरु पनि शरीरको रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी मानिन्छ । रोग प्रतिरोधी क्षमता बढाउन योगका साथै नियमित खानपान र जीवनशैली पनि उत्तिकै महत्वपुर्ण हुन्छ ।
- लकडाउनको अवस्थामा घर मै बसेर योग सिक्न चाहनेका लागि योगमान्डुले कसरी सहयोग गरिरहेको छ ?
हामीले अहिले हाम्रा नियमित ग्राहकहरुका लागि अनलाइनमार्फत नै भिडियो कन्फरेन्स गरि योग सिकाइरहेका छन । नँया योग गर्न चाहनेका लागि पनि हाम्रो अनुभवी प्रशिक्षकहरुले घर मै बसेर गर्न सकिने योगासन र ध्यानको बारेमा प्रत्यक्ष सल्लाह दिइरहनु भएको छ । हामीले अनलाइनबाटै प्राइभेट तथा ग्रुप योग कक्षा र प्रशिक्षण दिइरहेका छौ। योग गर्न चाहनेले हामीलाई सम्पर्क गरि यस्ता कक्षाहरुमा अनलाइनबाटै जोडिन सक्नुहुन्छ । यो संकटको समयमा हामी सबैलाई स्वस्थ रहन सकेको सहयोग गर्नेछौ ।